घर र अफिस घर्रामा, पुराना ब्रिफकेसमा चाङ लागेका नोटबुक, चिठीपत्र र तस्बिरले मलाई विगत सम्झाउँछन् । जीवनका तीतामीठा सम्झना सुरक्षित राख्नुपर्छ र समाजसँग बाँड्नुपर्छ भन्ने सोच पहिल्यैदेखि थियो ।
२०६४ माघतिर नेपा–लयका साथीहरु मेरोबारे किताब लेख्ने प्रस्ताव लिएर आए । मैले यसलाई आफ्नो सार्वजानिक सम्मानका रुपमा लिएँ । तर, व्यस्तताका कारण आफँै लेख्न सम्भव थिएन । उनीहरुले भने, ‘लेखक हामी नै दिन्छौं, तपाईले आफ्ना सबै कुरा खोल्नुपर्छ ।’ उनीहरुले पत्रकार सुदिप श्रेष्ठको नाउँ दिए । आर्थिक पत्रकारका रुपमा म उनलाई चिन्थेँ । मैले आफ्नो जीवन गाथा सुनाउने क्रममा घन्टांै, हप्तौं, महिनौं उनीसँग कुराकानी गरेँ । पुराना नोटबुक, चिठीपत्र र तस्बिर पल्टाएँ । उनले मेरा सहकर्मी, साथी, आफन्त र परिवारका सदस्यसँग समेत भेटघाट गरे ।
किताब लेखन क्रममा मैले विगतलाई सजीव ढंगले सम्झिने मौका पाएँ । घटना पछाडी लुकेका निर्णयलाई आत्ममूल्यांकन गर्न र कतिपय निर्णयमा आत्मालोचना गर्न पनि पाएँ । यो मेरो होइन, चौधरी ग्रुपकै आत्मकथा हो । यस अवसरमा म आफ्नो व्यावसायिक जीवनमा सहयोग गर्ने सबैलाई स्मरण गर्न चाहान्छु । बुवा सधैं मेरो निम्ति प्रेरणाको स्रोत रहनुभयो । भाइहरु वसन्त र अरुणले कम्पनी निर्माणमा सशक्त भूमिका खेले । छोराहरु निर्वाण, राहुल र वरुणले कम्पनीलाई उचाइमा पु-याउन मेरो जिम्मेवारी बाँडे । मैले उद्योग व्यापारमा कदम राखेदेखि एमआर महेश्वरी र मनोहर पाध्येले साथ दिँदै आएका छन् । सहकर्मीहरु सुरेश साबु र जिपी शाहले चौधरी ग्रुपको आरोह–अवरोह नजिकबाट देखे । गर्ली अग्रवालले २५ वर्षदेखि अफिस र पारिवारिक मामिलामा सहयोग गरिरहेकी छन् । व्यक्तिगत सहयोगी सञ्जय बस्नेत र २५ वर्षदेखिका चालक कृष्ण बिष्टले मलाई सधैँ साथ दिए । र, निकै आभारी छु श्रीमती लिलीको, जसले घरव्यवहारका सारा झैझमेला आफैसँग बोकेर मलाई व्यस्त बिजनेसमा लागिरहने अवसर दिइन् र यो हैसियतसम्म पु¥याइन् ।
विनोद चौधरी